बझाङमा अटो दुर्घटना : एउटै परिवारका चार जनाको मृत्यु, ब्रेक फेल हुँदा ९०० मिटर तल खस्यो अटो
बझाङ। जिल्ला’को बुंगल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ। कात्तिक ३० गते बिहान करिब १०ः२० बजे भएको दुर्घटनामा एकै परिवारका चार जनाले ज्यान गुमाएका हुन्।प्रहरीका अनुसार टुमेडा गाउँबाट बजारतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ह ७९९८ नम्बरको अटो ओरालो सडकमा ब्रेक फेल भएपछि अनियन्त्रित भई सडकबाट करिब ९०० मिटर तल भीरमा खसेको थियो।दुर्घटनामा बुंगल नगरपालिका–१० निवासी शिक्षक दीपक महराकी ४० वर्षीया श्रीमती राजमति महरा, १६ वर्षीया भतिजी तारा महरा, ७ वर्षीय छोरा रियास महरा र २ वर्षीया छोरी रियासाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।दसैं–तिहार मनाएर डडेल्धुरा फर्किने क्रममा रहेका उनीहरू सवार अटोमा चालकसहित ६ जना थिए।
दुर्घटनामा सोही ठाउँका १३ वर्षीय विक्रम महरा भने सकुशल रहेका छन्।दुर्घटनापछि अटो चालक बुंगल नगरपालिका–११ निवासी २५ वर्षीय टेकबहादुर पातलीलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।प्रहरीको प्रारम्भिक अनुसन्धानले ओरालो सडकमा ब्रेक फेल हुँदा अटो दुर्घटना भएको देखाएको छ। घटनाले एकै परिवारका चार जनाको ज्यान गएपछि गाउँ नै शोकमा डुबेको छ।


