देशलाई संकटबाट निकाल्न एमाले एकताबद्ध हुनुपर्छ : गणेशसिंह ठगुन्ना
दार्चुला — नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा पूर्व सांसद गणेशसिंह ठगुन्नाले देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरुले मुलुकलाई संकटपूर्ण अवस्थातर्फ धकेल्ने प्रयास गरिरहेको बताएका छन् । उनले यस्तो संवेदनशील परिस्थितिमा एमालेका सम्पूर्ण कार्यकर्ताहरू एकताबद्ध भई राष्ट्रियता, सार्वभौमसत्ता र लोकतन्त्रको रक्षा गर्नुपर्नेमा जोड दिएका छन्।
पार्टी बैठकमा बोल्दै ठगुन्नाले सचिवालय तर्फबाट प्रस्तुत विशेष प्रस्तावको पूर्ण समर्थन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सञ्चालन भइरहेका विकास योजनाहरु र राष्ट्रिय स्वाभिमानका पक्षमा राखिएको अडानको प्रशंसा गरे।
उनका अनुसार ओली नेतृत्वको सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीको भूभागमा नेपालको स्वामित्वका पक्षमा अन्तर्राष्ट्रिय स्तरमा दृढ अडान राखेको उल्लेखनीय उपलब्धि हो। तर, त्यसैको प्रतिक्रियामा देशी–विदेशी पुनरुत्थानवादी शक्तिहरुले ठूलो षड्यन्त्र गरी मुलुकलाई अस्थिर बनाउन खोजेको उनको आरोप छ।
ठगुन्नाले भाद्र २३ र २४ गते Gen-Z युवाहरुले भ्रष्टाचार अन्त्य, सुशासन र अभिव्यक्ति स्वतन्त्रताको मागसहित गरेका शान्तिपूर्ण आन्दोलनमा बाह्य हस्तक्षेपका कारण हिंसात्मक घटना भएको बताउँदै मृतकप्रति श्रद्धाञ्जली र घाइतेको उपचारका लागि राज्यले जिम्मेवारी लिनुपर्ने माग गरे।
उनले एमालेभित्र नेतृत्वलाई आरोपित गर्ने गलत प्रवृत्तिबाट टाढा रहँदै एकताबद्ध भएर अघि बढ्न सबैलाई आग्रह गरे।
उनले अघि सारेका प्रमुख सुझावहरूः
१. राजनीतिक प्रणाली स्पष्ट पार्ने: प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख वा संसदीय प्रणालीमध्ये कुन प्रणालीमा जाने भन्नेमा पार्टी स्पष्ट हुनुपर्ने।
२. प्राथमिक निर्वाचन प्रणाली: उम्मेदवार चयन पार्टी सदस्यबाट प्राथमिक निर्वाचनमार्फत गर्नुपर्ने।
३. अवैध सम्पत्ति राष्ट्रियकरण: पञ्चायतकालदेखि हालसम्मका राजनीतिक, न्यायिक, प्रशासनिक र संवैधानिक निकायका व्यक्तिहरुको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने।
४. संघ, प्रदेश र स्थानीय तह घटाउने: तीन तहका संरचना ५० प्रतिशतसम्म घटाउनुपर्ने।
५. अख्तियारमा प्रतिस्पर्धा: अख्तियार प्रमुख तथा आयुक्तहरू विश्वविद्यालयका गोल्डमेडलिस्टहरूबाट खुल्ला प्रतिस्पर्धा मार्फत छनोट गर्नुपर्ने।
६. स्वास्थ्यमा समान पहुँच: आर्थिक रूपमा कमजोर नागरिकका लागि सम्पूर्ण उपचार निःशुल्क गर्नुपर्ने।
७. रोजगार र उत्पादन: पर्यटन, पशुपालन, जैविक कृषि र उद्योग विस्तारमार्फत बार्षिक १० लाख युवालाई रोजगारी सिर्जना गर्नुपर्ने।
८. बजेट दुरुपयोग रोकथाम: प्रदेश र स्थानीय तहमा विनियोजन हुने बजेटको दुरुपयोग रोक्न कानुनी सुधार गर्नुपर्ने।
९. पार्टी पारदर्शिता: एमालेका सम्पूर्ण नेता र जनप्रतिनिधिहरुको सम्पत्ति विवरण पार्टीले सार्वजनिक गर्नुपर्ने।
ठगुन्नाले भने, “राष्ट्रियता र जनताको हितका लागि हामी सबै केपी शर्मा ओलीको नेतृत्वमा एकजुट हुनुपर्छ। यही एकता नै नेपालको लोकतन्त्र र कम्युनिष्ट आन्दोलनलाई सुदृढ बनाउने बाटो हो।”
– गातिसिल न्युज, दार्चुला






