दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकामा अटो दुर्घटना हुँदा एक बालिकाको ज्यान गएको छ भने अन्य केही व्यक्ति बेपत्ता भएका छन्।
पालिका केन्द्र होपरिगाडदेखि मसिनेबगरतर्फ जाँदै गरेको नौगाड–६ का ३६ वर्षीय मनिराम भुलको नाममा दर्ता भएको (म १ ह ११४८ नम्बर) अटो सोमबार (आज) दिउँसो करिब १:१५ बजे नौगाड–५ सौकेबगरस्थित चिनेगौडा भिरबाट नौगाड खोलामा खसेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
दुर्घटनामा परि अन्दाजी १२–१३ वर्षकी बालिका मृत अवस्थामा खोलाको किनारमा फेला परेकी छन्। सोही अटोमा रहेका चालकका १६ वर्षीय छोरा आयुश भुल गम्भीर घाइते भएका छन्। उनलाई उपचारका लागि गोकुलेश्वर अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
अहिलेसम्म अन्य केही व्यक्ति बेपत्ता रहेको र उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ। अटो चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।






