७५३ स्थानीय तहमा ७२ वर्षिय यात्रु
१ असार २०८२, दार्चुला।
७२ वर्षिय वृद्ध राम भक्त कौडिन्य (प्याकुरेल) ले साइकल र पैदलयात्रामार्फत नेपालको ७५३ वटै स्थानीय तहको यात्रा सम्पन्न गरेका छन्। सन्देश बोकेको यो अद्वितीय यात्राले सबै उमेर समूहका नागरिकमा अपार प्रेरणा दिने कार्य गरेको छ।
वि.सं. २०७८ मंसिर ९ गते मोरङ जिल्ला अन्तर्गत रतुवामाई नगरपालिका–दाम्राभिट्टाबाट यात्रा सुरु गरेका प्याकुरेलले ४ वर्षको कठिन, साहसिक र धैर्यपूर्ण यात्रापछि सुर्खेतको भेरीगंगा नगरपालिकामा पुगेर २०८२ सालको जेठ २५ गते अन्तिम गन्तव्यमा यात्रा समाप्त गरेका हुन्।
उनको यो यात्रा ‘शान्तिका लागि नेपालका सबै स्थानीय तहमा साइकल तथा पदयात्रा’ भन्ने मुल नाराका साथ सञ्चालन गरिएको थियो। बिना कुनै संस्थागत सहयोग, आत्मबल र निष्ठाका साथ उनले यो असम्भव जस्तो देखिने कार्यलाई सम्भव बनाए।
प्याकुरेलले यात्रा भरि सत्य, सेवा, सदाचार र सकारात्मक सोचको सन्देश बाँडे। उनको मूल मन्त्र थियो — “सत्यकर्म गरौं, आनन्दले मरौं”।
जीवनप्रति निराश बनेका र समाजबाट टाढिएका मानिसहरूका लागि उनका कदमहरूले साहस र आशाको उज्यालो दिन सक्छन्।
प्याकुरेलको यो अद्वितीय यात्रालाई ‘नेपाल यात्री’ नाम दिइएको छ। उनले यस यात्राबाट देशभरका नागरिकसँग प्रत्यक्ष सम्पर्क गरेका छन् र शान्तिको सन्देश पुर्याएका छन्।
गतिशील न्यूज उनको यो यात्रालाई हार्दिक बधाई ज्ञापन गर्दै जीवनप्रेम, धैर्य र अडिग संकल्पका प्रतीक राम भक्त प्याकुरेलप्रति उच्च सम्मान प्रकट गर्दछ।
🕊️ सन्देश: शान्तिका लागि यात्रा, जीवनका लागि प्रेरणा।







