२३औं कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवसमा ब्लड क्यान्सर पीडितलाई आर्थिक सहयोग
दार्चुला, जेठ १३ — प्रेस सेन्टर नेपाल दार्चुलाले २३औं कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवसको अवसरमा महाकाली नगरपालिका–२, बडालिगाउँ निवासी १५ वर्षीय ब्लड क्यान्सर पीडित रोशन बडाललाई आर्थिक सहयोग प्रदान गरेको छ।
राज्यद्वारा २०५९ साल जेठ १३ गते निर्मम हत्या गरिएका पत्रकार कृष्ण सेन ‘इच्छुक’को सम्झनामा देशभर विविध कार्यक्रममार्फत स्मृति दिवस मनाइँदै गर्दा दार्चुलामा पनि प्रेस सेन्टर नेपालले एक कार्यक्रमको आयोजना गर्दै स्मृति दिवस मनाएको हो।
दार्चुला शाखा अध्यक्ष हरिप्रसाद जोशीका अनुसार इच्छुकको स्मृतिमा आयोजित कार्यक्रममा सहभागी नेता, सञ्चारकर्मी र प्रेस सेन्टर नेपालको तर्फबाट पीडित बडाललाई रु. ४,२५० (चार हजार दुईसय पचास रुपैयाँ) आर्थिक सहयोग गरिएको हो। साथै, कार्यक्रममा सहभागी सबैले बालकको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका थिए।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य जमन सिंह धामी, जिल्ला संयोजक पदमराज पन्त, प्रदेश कमिटी सदस्य दीपक जोशी, नेपाल पत्रकार महासंघ दार्चुलाका अध्यक्ष राजेन्द्र सिंह धामी, प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष प्रेम चुनारा, महासंघका निवर्तमान अध्यक्ष शंकर सिंह धामी, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य शारदा पन्त, वाइसिएल नेपालका नेता दानी विक लगायतको उपस्थिति रहेको थियो।
स्मृति दिवसको अवसरमा सहभागीहरूले पत्रकार सेनको तस्वीरमा माल्यार्पण गरी उनको बलिदानीलाई सम्झिएका थिए।

















