दार्चुलामा क्षतिग्रस्त टावर पुनर्निर्माणका लागि नेता धामीको ध्यानाकर्षण
दार्चुला, जेष्ठ १० – शारदा पन्त।
२०७५ सालदेखि निरन्तर दार्चुलाका दुर्गम क्षेत्रहरूमा संचार पहुँच विस्तारका लागि पहल गर्दै आएका नेपाली कांग्रेसका नेता तथा मालिकार्जुन गाउँपालिकाका निवर्तमान अध्यक्ष नरेन्द्र सिंह धामीले मोबाइल टावर क्षतिग्रस्त भई सेवा अवरुद्ध भएको विषयमा गम्भीर चासो व्यक्त गर्दै सम्बन्धित निकायमा ध्यानाकर्षण गराएका छन्।
मिति २०८२ जेष्ठ ५ गतेको अविरल वर्षा र तीव्र हावाहुरीका कारण मालिकार्जुन गाउँपालिका वडा नं. ७ स्थित पासादेउ र अपिहिमाल गाउँपालिका वडा नं. ६ स्थित पाथाको मोबाइल टावरमा क्षति पुगेपछि ती क्षेत्रको संचार सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त घटनापछि आज नेता धामी काठमाडौंस्थित मोबाइल सेवा निर्देशनालय, बबरमहलमा पुगेर निर्देशक प्रेम सिलवाल, प्रबन्धक मिलन श्रेष्ठ, उप-प्रबन्धक निर्मल घिमिरे, किसन कर्माचार्य लगायत उच्च अधिकारीहरूसँग भेटघाट तथा छलफल गरेका हुन्।
छलफलका क्रममा नेता धामीले दार्चुलाका विकट गाउँहरूमा अझै पनि संचार पहुँच नपुगेको र पछिल्लो समय देशका धेरै भागमा 4G र 5G सेवा विस्तार भइसकेको अवस्थामा यी क्षेत्रहरू संचार सुविधाबाट बञ्चित हुनु दुःखद भएको बताएका थिए। उनले टावर पुनःनिर्माण र मर्मत सम्भारको कार्य यथासिघ्र अघि बढाउन आग्रह गरेका छन्।
मोबाइल सेवा निर्देशक प्रेम सिलवालले उक्त विषयलाई गम्भीरतापूर्वक लिँदै तत्काल सम्बन्धित युनिटहरूलाई निर्देशन दिइसकेको जानकारी दिए। उनले केही दिनभित्रै प्राविधिक टोली घटनास्थलमा पुगेर सेवा पुनः सञ्चालन गरिने प्रतिवद्धता व्यक्त गरे।
यसैबीच, निर्देशक सिलवालले दार्चुलाको संचार पूर्वाधार विस्तार योजनाको सन्दर्भमा ब्याँसको सुन्सेरा, मालिकार्जुनको सुङरखाली र लेकमको गोदालीमा टावर निर्माण सकिएको र एक महिनाभित्रै ती क्षेत्रमा सेवा सञ्चालन गरिने जानकारी दिए। साथै, आगामी वर्षको योजनामा रेबली, चौकी, काटै लगायतका क्षेत्रलाई समेत समावेश गरिएको जानकारी दिए।
नेता धामीले आफुले विगतमा प्रस्ताव गरेका थुप्रै स्थानहरूमा टावर निर्माण सम्पन्न भइसकेको र केही स्थानमा निर्माणको चरणमा रहेको भन्दै नेपाल टेलिकम र मोबाइल सेवा निर्देशनालयप्रति धन्यवाद तथा आभार व्यक्त गरेका छन्।







