माता तिर्थ औँसीमा प्रेम जोशी ‘सागर’को आमाप्रति श्रद्धा र सम्मान
दार्चुला, वैशाख १५ — लोकेन्द्र डागा मिस्रा।
“जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी” भन्ने उक्ति झैं, जन्म दिने आमाको माया संसारकै सबैभन्दा ठूलो शक्ति हो। आज वैशाख कृष्ण औँसी अर्थात माता तिर्थ औँसी को अवसरमा दार्चुलाका प्रेम जोशी ‘सागर’ले आफ्नी आमाप्रति गहिरो श्रद्धा, सम्मान र प्रेम व्यक्त गरेका छन्।
शैल्यशिखर नगरपालिका–८, झरकडा दार्चुला घर भई हाल धनगढी, कैलालीमा बसोबास गर्दै आएका जोशीले आमाले आफ्नो जीवनमा खेलेको भूमिका र संघर्षलाई सम्झँदै आमाप्रतिको गहिरो भावनालाई शब्दमा उतारेका छन्।
आफ्नो बाल्यकालका सम्झनाहरू उल्लेख गर्दै उनले भनेका छन्,
“तिमीले भारी बोकेर मलाई पढाएको, आफै भोकै बसेर मलाई खुवाएको, तिमीले सिलाएका टालाटुला कपडासँगै मेरो लागि नयाँ धोती किन्न गरेको प्रयास आज पनि ताजा सम्झना जस्तै छ मेरी आमा।”
प्रेम जोशीले आमाको त्याग, माया र संघर्षलाई संसारका कुनै धन–सम्पत्तिसँग तुलना गर्न नसकिने बताए। उनले भावुक हुँदै भनेका छन्,
“अरुले दिएको लाख भन्दा आमाको काख नै प्यारो लाग्छ।”
माता तिर्थ औँसी विशेषगरी आमाप्रति आभार व्यक्त गर्ने दिन हो। यो दिन छोराछोरीहरूले आफ्नी आमालाई मिठो खान दिन्छन्, राम्रो लुगा लगाउन आग्रह गर्छन् र आशिर्वाद लिन्छन्। टाढा भएका सन्तानहरू सञ्चारमार्फत आमा सम्झिन्छन्।
यस अवसरमा प्रेम जोशी ‘सागर’ले सम्पूर्ण आमाहरूलाई कोटि–कोटि प्रणाम र धेरै–धेरै शुभकामना व्यक्त गर्दै, आमाको अमूल्य योगदानप्रति कृतज्ञता प्रकट गरेका छन्।






