आक्रमण, आलोचना र बदनामी शक्तिशाली बन्नेहरूको मूल्य हो – डा.सिके रावत
दार्चुला, ११ जेष्ठ २०८२ – शारदा पन्त।
जनमत पार्टीका अध्यक्ष डा. सिके रावतले सार्वजनिक जीवनमा नेतृत्व लिनेहरूलाई अनेक प्रकारका चुनौतीहरू सामना गर्नुपर्ने स्पष्ट पार्दै सामाजिक सञ्जालमार्फत गहिरो अभिव्यक्ति दिनुभएको छ।
उहाँले लेख्नुभएको छ: “कोमाथि आक्रमण हुन्छ ? जो शीर्ष पदमा बस्छ। कसको आलोचना हुन्छ ? जसले काम गर्छ। कसको खुट्टा तानिन्छ ? जो अगाडि बढ्न थाल्छ। कसलाई फुटाउन खोजिन्छ ? जो शक्तिशाली बन्न थाल्छ। कसले धोका दिन्छ ? जो आफ्नो नजिक हुन्छ। कसलाई बदनाम गर्न थालिन्छ? जसको नाम असह्य हुन थाल्छ।”
डा. रावतका अनुसार यस्ता चुनौतीहरू राजनीतिमा सामान्य प्रक्रिया हुन्, जसले कसैलाई पनि विचलित गराउनु हुँदैन। “राजनीतिमा यी कुराहरू सामान्य हुन्। यी सबै कुरालाई झेल्दै, चिर्दै अगाडि बढी राख्नु पर्छ, आत्तिनु हुँदैन,” उहाँले उल्लेख गर्नुभएको छ।
वर्तमान राजनीतिक परिस्थितिमा नेतृत्वको भूमिकामा रहेका व्यक्तिहरूको आलोचना, चरित्र हत्या र विश्वासघातजस्ता व्यवहार तीव्र रूपमा देखिने क्रममा डा. रावतको अभिव्यक्ति सार्वजनिक भएको हो।
उनको यो अभिव्यक्तिलाई धेरैले राजनीतिक यात्रामा देखिने स्वाभाविक बाधाका रूपमा स्वीकार गर्नुपर्ने सन्देशका रूपमा व्याख्या गरेका छन्। विशेषगरी सशक्त र परिवर्तनको प्रयास गरिरहेका नेताहरूले यस्ता व्यवहारको सामना गर्नुपर्ने अवस्थालाई डा. रावतले गहिरो रूपमा स्पर्श गर्नुभएको छ।







