दार्चुलाका तीन पालिकामा कर्मचारी आन्दोलन चर्कियो: लेकम, अपिहिमाल र नौगाड गाउँपालिकामा तालाबन्दी
दार्चुला, २६ वैशाख २०८२ — शारदा पन्त।
सुदूरपश्चिमको दुर्गम जिल्ला दार्चुलाका तीनवटा स्थानीय तहहरूमा स्थानीय तह कर्मचारी संघर्ष समितिको आह्वानमा तालाबन्दी भएपछि सार्वजनिक सेवा पूर्ण रूपमा प्रभावित भएको छ। लेकम गाउँपालिका, अपिहिमाल गाउँपालिका र नौगाड गाउँपालिकामा गरिएको तालाबन्दीका कारण सेवा लिन आएका सर्वसाधारण अलमलमा परेका छन्।
लेकम गाउँपालिकामा आज बिहानदेखि गाउँकार्यपालिकाको कार्यालय अन्तर्गत रहेका
प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष,आर्थिक प्रशासन शाखा, पूर्वाधार विकास शाखा
लगायतका महत्त्वपूर्ण शाखाहरूमा ताला लगाइएको छ।
गाउँपालिकाले सूचना प्रकाशित गर्दै भनेको छ—
“तालाबन्दीका कारण परिस्थिती सहज नभएसम्म अत्यावश्यक सेवा बाहेक अन्य सेवाहरू प्रदान गर्न असहज परिस्थिति सिर्जना भएको छ।”
ऐन जारी नगरेसम्म आन्दोलन नरोकिने
संघीय निजामती सेवा ऐनको माग गर्दै देशभर व्यापक रूपमा आन्दोलन भइरहेका बेला दार्चुलामा पनि कर्मचारीहरूले तालाबन्दी चर्काएका हुन्।
“सरकारले हाम्रो संरचना र सेवा सुरक्षाबारे चासो नदिएसम्म आन्दोलन जारी राखिन्छ,” संघर्ष समितिका प्रतिनिधि ममता बिष्टले बताए।
अपिहिमाल र नौगाडमा पनि तालाबन्दी
दार्चुलाको अपिहिमाल गाउँपालिका र नौगाड गाउँपालिकामा पनि समान रूपमा तालाबन्दी गरिएको छ। यी पालिकामा समेत सबै सेवाहरू स्थगित भएका छन्।
सेवाग्राही मारमा
नागरिक सेवा लिन गएका सर्वसाधारण ढोका बन्द भेटेर फर्किनुपरेको छ। सुदूर दुर्गम क्षेत्रका गाउँहरूबाट पैदल हिँडेर आएका नागरिकहरू सेवा नपाई निराश बनेका छन्।
“सडक छैन, दुःख गरेर पालिका झरेका थियौं, सेवा नै छैन भनेर फर्किनु पर्यो,” एक सेवाग्राहीले भने।
सुदूरपश्चिम प्रदेश भर चर्किने कर्मचारी आन्दोलनले स्थानीय शासन प्रणाली नै अस्तव्यस्त बनेको छ। ऐन जारी गर्ने विषयमा सरकार गम्भीर नभएसम्म यो संकट झन् गहिरिँदै जाने देखिएको छ।










