Comments Add Comment

शिक्षकका माग सम्बोधनपछि कक्षा १२ को परीक्षा तयारीमा तीव्रता: राष्ट्रिय परीक्षा बोर्ड



शिक्षकका माग सम्बोधनपछि कक्षा १२ को परीक्षा तयारीमा तीव्रता: राष्ट्रिय परीक्षा बोर्ड

दार्चुला, वैशाख २० : शारदा पन्त।
नेपाल शिक्षक महासङ्घले अघि सारेका माग सम्बोधनसँगै कक्षा १२ को माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा तयारीमा तीव्रता ल्याउन राष्ट्रिय परीक्षा बोर्डले सम्बन्धित सबै निकायलाई आह्वान गरेको छ।

बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बिहीबार विज्ञप्ति जारी गर्दै नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासङ्घबीच वैशाख १७ गते सफलतापूर्वक भएको सहमति स्वागतयोग्य रहेको उल्लेख गरेका छन्।

“समस्या र चुनौती समाधान गर्दै अवसरमा परिणत गर्न संवाद र सहमतिका माध्यम नै प्रभावकारी छन् भन्ने तथ्य प्रमाणित भएको छ,” विज्ञप्तिमा भनिएको छ।

कक्षा १२ को परीक्षा वैशाख २१ गतेदेखि सुरु हुँदैछ। बोर्डले अब बाँकी तयारीका कामहरूलाई तीव्र गतिमा सम्पन्न गर्न प्रदेश परीक्षा व्यवस्थापन समिति, जिल्ला परीक्षा समन्वय समिति, विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारी सबैको सक्रिय सहभागिता आवश्यक रहेको जनाएको छ।

त्यस्तै एसईई परीक्षाका उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण कार्य छिट्टै सुरु गर्नुपर्ने आवश्यकता पनि बोर्डले औंल्याएको छ। विद्यार्थीको अवसर गुम्न नदिई शैक्षिक भविष्यमा असर नपर्ने गरी समयमै नतिजा प्रकाशन गर्ने लक्ष्यसहित काम अघि बढाउन सबै तह र निकायसँग समन्वय र सहयोगको अपेक्षा गरिएको छ।

राष्ट्रिय परीक्षा बोर्डले यस प्रक्रियामा विगतझैं सबै सरोकारवालाको सहयोगका लागि धन्यवाद व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment