शिक्षक आन्दोलन जारी : अध्यक्ष सुवेदीले गरे बलियो उपस्थिति र संघर्षको आह्वान
१६ वैशाख २०८२, दार्चुला- शारदा पन्त।
नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आन्दोलनलाई अझ बलियो बनाउन सम्पूर्ण शिक्षकहरूलाई आह्वान गरेका छन्। उनले आज २०८२ वैशाख १६ गते बिहान ११:०० बजे माइतीघर मण्डलामा उपस्थित भई आन्दोलनमा सहभागी हुन आग्रह गरेका हुन्।
हिजो वैशाख १५ गते सम्पन्न आन्दोलनमा सहभागी सम्पूर्ण शिक्षक कर्मचारीहरूलाई धन्यवाद दिँदै सुवेदीले लेखेका छन्, “राज्य आफैंले दिन चाहँदैन, आन्दोलन बिना केही पाइँदैन।” उनले थप जोड दिँदै भनेका छन् — “मेरो आन्दोलन, मेरो सहभागिता। बलियो उपस्थिति, बलियो आन्दोलन — बलियो आन्दोलन, बलियो उपलब्धि।”
शिक्षक महासंघले आफ्ना मागहरू पुरा गराउन लामो समयदेखि दबाबमूलक कार्यक्रम गर्दै आएको छ। पछिल्ला दिनमा सरकार र आन्दोलनकारीबीच कुनै ठोस सहमति जुट्न नसकेको भन्दै महासंघले संघर्षलाई थप सशक्त बनाउने रणनीति लिएको छ।
आन्दोलनको दबाबका कारण शिक्षा क्षेत्र प्रभावित हुँदै गइरहेको छ भने विद्यार्थी र अभिभावकहरूमा पनि चासो बढेको देखिन्छ।






