Comments Add Comment

मासुभात खुवाएर पनि शिक्षक सरुवा सिफारिस नगर्ने प्रधानाध्यापक: ज्यानमार्ने धम्की, दबाब र उजुरी


मासुभात खुवाएर पनि शिक्षक सरुवा सिफारिस नगर्ने प्रधानाध्यापक: ज्यानमार्ने धम्की, दबाब र उजुरी

७ साउन २०८२, दार्चुला
शैल्यशिखर नगरपालिका–१ स्थित श्रीकृष्ण माध्यमिक विद्यालय बलाचका प्रधानाध्यापक जनक तितराले शिक्षक सरुवासम्बन्धी प्रक्रियामा अनियमितता गरेको आरोप लागेको छ। सरुवा सिफारिसका लागि मासु–भात, रक्सी र खसी खुवाउनुपर्ने मागसहित विद्यालयमा भ्रष्ट अभ्यास भएको उजुरी सम्बन्धित निकायमा पुगेको छ।

विसं २०८२ जेठ २५ गते डिलासैनी–३ बस्ने गणित/विज्ञान शिक्षक लिलाधर भट्टको अनिवार्य अवकाशपछि विद्यालयमा सो विषयको दरबन्दी रिक्त भएको थियो। त्यसैको सन्दर्भमा शैल्यशिखर नगरपालिकाको शिक्षा शाखाले जेठ १९ गते सूचना प्रकाशित गर्दै इच्छुक शिक्षकहरूलाई निवेदन दिन आह्वान गरेको थियो।

यस सूचनापछि विभिन्न शिक्षकहरूले निम्नानुसार सरुवा निवेदन दिएका थिए:

जेठ २५ गते: द्वितीय श्रेणीका शिक्षक रमेश कुमार राना

असार २ गते: तृतीय श्रेणीका शिक्षक वीर बहादुर धामी

जेठ ३० गते: तृतीय श्रेणीका शिक्षक हरिदत्त जोशी र रुपेश बहादुर बोहरा (इमेलमार्फत)


▪️निर्देशिकाविपरीत सिफारिस

विद्यालयका प्रधानाध्यापक जनक तितराले वि.सं. २०८२ असार ३ गते चलानी नं. १५४ मार्फत द्वितीय श्रेणीका शिक्षक रमेश रानाको मात्र सिफारिस गरेर पत्राचार गरेका थिए। तर, शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाले सो सिफारिस अस्वीकृत गर्‍यो।
निर्देशिका २०८१ को परिच्छेद ८, दफा २१(घ) अनुसार, यदि बाहिरबाट सरुवा भई आउन खोज्ने शिक्षक द्वितीय वा प्रथम श्रेणीको छन् भने जिल्लाभित्रको सम्बन्धित तहमा त्यस्तो श्रेणीको दरबन्दी संख्या नाघ्न नहुने व्यवस्था छ। रमेश रानाको सिफारिस सोही मापदण्ड विपरीत ठहरियो। त्यसपछि इकाइ कार्यालयले तृतीय श्रेणीका शिक्षकहरूबाट नियमानुसार सिफारिस गर्न अनुरोध गर्‍यो।

▪️सिफारिसमा ढिलासुस्ती र दुर्व्यवहार

शिक्षा शाखाबाट प्रस्ट निर्देशन आउँदासमेत विद्यालय प्रशासनले एक महिनासम्म कानुनी अनुरुप सिफारिस गरेन। त्यसपछि योग्यता र नियम अनुसार तृतीय श्रेणीका शिक्षक वीर बहादुर धामीले सिफारिसको माग गर्दै विद्यालय पुगेका थिए। तर विद्यालयले उनलाई दवाब र धम्की दिएको आरोप लागेको छ।

धामीका अनुसार विद्यालयले कागजात तयार पारे पनि हस्ताक्षर नगरी “आज यतै बस्नुहोस्, मासु–भात खुवाउनुहोस्, खसी काट्नुहोस्, पैसा दिनुहोस् अनि मात्र सिफारिसमा हस्ताक्षर गरिन्छ” भन्ने अभद्र शैलीमा व्यवहार गरिएको थियो। प्रधानाध्यापक जनक तितरा र सामाजिक शिक्षक सुरेन्द्र खडायतले मिलेर यस्तो दबाब दिएको दाबी गरिएको छ।

त्यतिमात्र होइन, शिक्षक सुरेन्द्र खडायतले अर्का सरुवा इच्छुक शिक्षक रुपेश बहादुर बोहरालाई बोलाएर वीर बहादुर धामीमाथि थप दवाब सिर्जना गरेको आरोप पनि लागेको छ। आफूलाई असुरक्षित महसुस गर्दै धामी त्यहीँबाट ज्यान जोगाएर शैल्यशिखर नगरपालिकाको शिक्षा शाखामा पुगेका थिए।

▪️नागरिक सतर्कता केन्द्रमा उजुरी

शिक्षक धामीले यो विषयमा राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी दिएका थिए। केन्द्रले विद्यालयसँग ३ दिनभित्र लिखित जवाफ मागेको समेत पुष्टि भएको छ। त्यसको आधारमा नगरपालिका शिक्षाशाखाले ४ साउनमा विद्यालयलाई पत्र पठाई स्पष्टीकरण मागेको थियो।

▪️प्रधानाध्यापकको पक्ष

हामीले संपर्क गर्दा प्रधानाध्यापक जनक तितराले सिफारिस प्रक्रिया ढिला भएको स्वीकार गरे। मासु खाएको पनि स्विकार गरे तर “खसी खुवाउनु” भनेको सामाजिक शिक्षक सुरेन्द्र खडायतको बोली भएको र आफूले धम्की नदिएको दाबी गरे। आफूसँग सरुवा सिफारिस नदिने नियत नरहेको स्पष्ट पारे।

▪️शिक्षा प्रणालीमाथि प्रश्न

एक शिक्षकले योग्यता, निर्देशिका र समयमै निवेदन दिएर पनि सरुवा सिफारिस गराउनका लागि खसी र रक्सी खुवाउनु पर्ने परिस्थिति आउँदा शिक्षा प्रणाली कता जाँदैछ भन्ने गम्भीर प्रश्न उठेको छ। सिफारिसको नाममा भएको यस्तो शक्ति दुरुपयोगले शिक्षकहरूलाई मानसिक पीडा, अपमान र अन्याय भोग्न बाध्य बनाइरहेको छ।

▪️निष्कर्ष

शिक्षा जस्तो पवित्र क्षेत्रमा राजनीतिक पहुँच, आर्थिक चलखेल र आन्तरिक दबाबको आधारमा निर्णय हुने हो भने गुणस्तरीय शिक्षाको सपना अधुरै रहन्छ।
शैल्यशिखर नगरपालिका, शिक्षा इकाई र राष्ट्रिय सतर्कता केन्द्रको भूमिकाले अब यस घटनामा के निष्कर्ष ल्याउँछ, त्यो नियाल्नु बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment