दार्चुला।
फागुन २१ गते हुने निर्वाचनमा सडक निर्माणको माग पूरा नभएसम्म भोट बहिस्कार गर्ने बस्तीहरू दार्चुलामा थपिएका छन्। नौगाड गाउँपालिका–१ नागुका ६०२ मतदाताले दल्लेख–नागु–सिना सडकको काम अगाडि नबढेसम्म भोट नदिने निर्णय दोहोर्याएका छन् भने व्याँस गाउँपालिका–२ राप्ला बोदगाउँका राप्लावासीले पनि चुनाव बहिष्कार गर्ने घोषणा गरेका छन्।
फागुन ४ गते दुहुँ गाउँपालिका–१ पिपलचौरी सौतेलीका ५० घरधुरीले सडक बन्ने ग्यारेन्टी नभएसम्म कसैलाई भोट नदिने निर्णय गरेका छन्। संघर्ष समिति सचिव हेमन्त सिंह ठकुरीले आफूसँग १५० भोट रहेको र सडक पुर्याउने पार्टी वा नेताको पक्षमा २०८४ को स्थानीय तथा प्रदेश निर्वाचनमा भोट दिने बताए।
नागु क्षेत्रका बासिन्दाले पहिलेदेखि नै यो निर्णय यथावत राखेका छन्, जसलाई स्थानीय सञ्चारमाध्यमले ‘पहिले सडक, अनि भोट’ भन्ने नारासँग जोडेका छन्। यी बस्तीहरूको निर्णयले निर्वाचनको माहोलमा विकास मागको जोड बलियो बनाएको छ।






