“भावविह्वल भानुराम” — ४ दशकअघिको अपमान अहिले पनि बिर्सन सकेका छैनन्
लेकम, दार्चुला — साउन १७, २०८२।
दार्चुला जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी (सप्रजिअ) मोहन सिंह धामीले ७८ वर्षीय भानुराम कामीको नागरिकता सम्बन्धी पुरानो, पीडादायी स्मृतिबारे सामाजिक सञ्जालमा एक मार्मिक संस्मरण साझा गरेपछि घटना सार्वजनिक चासोको विषय बनेको छ।
धामीका अनुसार लेकम गाउँपालिका–४, खरकडा निवासी भानुराम कामीले २०४३ साल माघ महिनाको पहिलो हप्तामा नागरिकता बनाएका थिए। त्यसबेला गाउँमा पुगेको नागरिकता टोलीले भानुरामको नागरिकता बनाए पनि तत्काल हस्तान्तरण नगरी उनलाई जोलजिवीसम्म भारी बोकाएर लगिएको थियो। टोलीले नागरिकता त दिएको थियो, तर भानुरामले अन्तिममा खाना माग्दा ‘नागरिकता दिएकै हो तिमीलाई, यही पर्याप्त हो’ भन्ने जवाफ पाएका थिए। दिनभरि भोकभोकै नागरिकता बोकेर हिंड्न बाध्य गराइएका भानुरामको त्यो पीडा अझै उनको मनमा अमिट रहँदै आएको छ।
धामीले लेखेका छन् —
“म उहाँलाई पटक–पटक कुर्सीमा बस्न आग्रह गरिरहेँ, तर उहाँ हरेक सेवाग्राहीका लागि कुर्सी छोडेर स्वयं भूँइमा बसिरहनु भएको थियो। उहाँको यस्तो उच्च संस्कार देखेर म उहाँको बारेमा अझ बुझ्न उत्साहित भएँ।”
“जब आत्मीयता बढ्यो, उहाँले नागरिकता टोलीसँगको आफ्नो पुरानो पीडादायी अनुभव सुनाउनु भयो। त्यो घटना एक नागरिकले आफ्नै राज्यबाट पाएको अपमानको प्रतिनिधि प्रसङ्गजस्तो लाग्यो।”
नागरिकता प्रतिलिपि निकालेर आफ्नो नागरिक परिचय पुनः प्राप्त गर्न सफल भएका भानुराम हालसम्म सरकारी कार्यालय जाँदा भूँइमै बस्ने आफ्नै संस्कारलाई निरन्तरता दिइरहेका छन्।
धामीले आफ्नो पोस्टमा भानुरामसँग खिचिएको फोटोसहित २०८२ साउन १६ गतेको उक्त स्मरण उल्लेख गर्दै लेखेका छन्, “यो मेरो जीवनको अमूल्य क्षण थियो।”






