Comments Add Comment

ग्रामिण शिक्षा संकटमा: भौगोलिक विकटता र संरचनात्मक कमजोरिले शिक्षाको भविष्य जोखिममा



✍️ – हितेश बिष्ट

नेपालको सामाजिक, आर्थिक, राजनीतिक तथा शैक्षिक विकासमा भौगोलिक अवस्थाले महत्वपूर्ण भूमिका खेलेको छ। विशेष गरी विकट भौगोलिक बनावटले ग्रामीण क्षेत्रको शिक्षा प्रणालीमा प्रत्यक्ष असर पारिरहेको छ। दुर्गम भूभाग, अप्ठ्यारो बाटो, सीमित स्रोत साधन, कमजोर पूर्वाधार र पहुँचको अभावले गर्दा ग्रामीण शिक्षा निरन्तर खस्किँदो अवस्थामा पुगेको छ।

आज पनि हजारौँ बालबालिका विद्यालयसम्म पुग्न सक्दैनन्। सडकको अभाव, भरपर्दो सञ्चारको कमी, र असहज भूगोलका कारण गाउँका विद्यालयहरूमा पठनपाठन नियमित छैन। अधिकांश विद्यालय अस्थायी संरचनामा सञ्चालित छन्, जसले बर्खायामजस्ता समयमा पढाइ नै बन्द गराउँछ।

▪️शिक्षामा पहुँच त छ, गुणस्तर छैन

नेपालका ग्रामिण भेगहरूमा विद्यालयहरू छन्, तर शिक्षक दरबन्दी अपूर्ण छन्। कतै दरबन्दी भए पनि योग्य शिक्षक छैनन्। शिक्षकहरूको शहर केन्द्रित मानसिकता, तालिमको अभाव, र राजनीतिक हस्तक्षेपले योग्य शिक्षकहरूको नियुक्तिमा समेत प्रश्न उठ्न थालेको छ। यो शिक्षाको गुणस्तर खस्किनुको प्रमुख कारण हो।

त्यसैगरी, वर्तमान पाठ्यक्रम शहरी सन्दर्भमा आधारित भएकाले ग्रामीण जीवनशैलीसँग मेल खाँदैन। यस्तो सान्दर्भिकता नहुनुले विद्यार्थीहरूको जिज्ञासा मर्न जान्छ, सिकाइ निरुत्साहित हुन्छ, र बेरोजगारीको जोखिम बढ्छ।

▪️भौतिक पूर्वाधार अभावकै कारण अवसरबाट वञ्चित

कोभिड-१९ महामारीले अनलाइन शिक्षाको आवश्यकता उजागर गर्यो। तर ग्रामीण क्षेत्रमा कम्प्युटर, इन्टरनेट, बिजुली, तालिम प्राप्त शिक्षकको अभावले गर्दा लाखौँ विद्यार्थी त्यस्ता अवसरबाट वञ्चित भए। विद्यालयमा शौचालय, पिउने पानी, छात्रावासजस्ता आधारभूत पूर्वाधार अझै सपना जस्तै छन्।

▪️सामाजिक-आर्थिक तथा सांस्कृतिक अवरोध

ग्रामीण परिवारहरू आर्थिक अभावका कारण बालबालिकालाई विद्यालय पठाउन सक्दैनन्। खेतीपाती, घरेलु काम, बालश्रम, तथा सामाजिक परम्परा विशेषतः छोरीहरूलाई चाँडो विवाह गरिदिने चलनले बालिका शिक्षामा प्रत्यक्ष असर परेको छ। जातीय विभेद, लैङ्गिक असमानता र रूढीवादी सोचले पनि शिक्षाको पहुँच सिमित बनाएको छ।

▪️नीति छ, तर कार्यान्वयन कमजोर

शिक्षा क्षेत्रमा नीति पर्याप्त छन्, तर कार्यान्वयनमै समस्या छ। विद्यालय व्यवस्थापन समिति निष्क्रिय छन्, शिक्षक नियमित छैनन्, बजेट प्रभावकारी रूपमा खर्च हुँदैन। यथास्थितिवाद, अनुगमनको अभाव, र योजना कार्यान्वयनमा जवाफदेहीताको कमीले शिक्षा क्षेत्र बिथोलिएको छ।

▪️समाधान के छन्?

१. पूर्वाधार विकासमा प्राथमिकता: विद्यालयमा सुरक्षित भवन, शौचालय, पुस्तकालय, खानेपानी, कम्प्युटर र इन्टरनेट सुनिश्चित गरिनुपर्छ।


२. योग्य शिक्षक सुनिश्चितता: तालिम प्राप्त, अनुभवी शिक्षकलाई प्रोत्साहनका साथ ग्रामीण क्षेत्रमा पठाउनुपर्छ। शिक्षक नियुक्तिमा पारदर्शिता र योग्यताको आधारमा छनोट गर्नुपर्छ।


३. स्थानीय पाठ्यक्रम र मातृभाषा शिक्षा: स्थानीय आवश्यकताअनुसार पाठ्यक्रम निर्माण र मातृभाषा शिक्षालाई प्राथमिक कक्षादेखि लागू गर्नुपर्छ।


४. अभिभावक सचेतना र समुदायको सहभागिता: अभिभावकलाई शिक्षाको महत्व बुझाउने, स्कूलमा उनीहरूको सहभागिता बढाउने र सामाजिक चेतनाको अभिवृद्धि गर्नु जरूरी छ।


५. प्रविधिमैत्री शिक्षा विस्तार: डिजिटल पहुँच सुनिश्चित गरी अनलाइन/हाइब्रिड शिक्षा ग्रामीण क्षेत्रसम्म पु-याउनु आवश्यक छ।

नेपालको ग्रामिण शिक्षा क्षेत्रमा सुधार ल्याउन बहुपक्षीय र साझा प्रयास अत्यावश्यक छ। शिक्षा सबैको अधिकार हो। ग्रामीण बालबालिका गुणस्तरीय शिक्षाबाट वञ्चित भइरहेका छन्, जुन राष्ट्रकै उज्ज्वल भविष्यमाथिको खतरा हो। शिक्षा विकास राष्ट्र विकासको मेरुदण्ड हो। यसैले शिक्षा सुधार गर्नु भनेको राष्ट्रको भविष्य सुधार गर्नु हो।

गाउँका विद्यालयमा लगानी, योग्य शिक्षकको सुनिश्चितता, प्रविधिको प्रयोग, समाजको सचेत सहभागिता र राज्यको प्रतिबद्धताले मात्र ग्रामीण शिक्षालाई समावेशी, गुणस्तरीय र दिगो बनाउन सकिन्छ।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment